नेपालमा दैनिक परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुने दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले आज देशभर रियल टाइम पिसिआर परिक्षण गरिएका मध्ये २६ दशमलव ५ प्रतिशतमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
दैनिक परिक्षण दर हेर्दा संक्रमित सङ्ख्या बढ्दो रहेको जानकारी गराउनुहुँदै प्रवक्ता पौडेलले आज सबैभन्दा बढी कर्णाली प्रदेशमा ५० प्रतिशत र गण्डकी प्रदेशमा ३९ दशमलव ५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । आज देशभर २ हजार ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ९८ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज १ हजार ३ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । सङ्क्रमणका कारण आज थप २८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।