मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले फाउण्डेशनका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ । ७०औं मदन जयन्तीका अवसरमा सोमबार हेटौंडा–११ स्थित शहिद स्मारकमा आयोजित बिशेष कार्यक्रममा फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले “श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार” स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
अध्यक्ष खुलालले लोकतान्त्रिक आन्दोलनमा फाउण्डेशनका संस्थापक अध्यक्ष शर्माको योगदानलाई चिरस्थाई राख्न “श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार” स्थापना गर्ने घोषणा गर्नुभयो । यस अघि आइतबार बसेको फाउण्डेशनको बैठकले मकवानपुरको लोकतान्त्रिक आन्दोलनमा शर्माको योगदान अतुलनीय रहेको भन्दै उहाँको यागदानलाई जिवन्त राख्न पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । फाउण्डेशनले स्थापना गरेको पुरस्कार मकवानपुरे लोकतान्त्रिक अन्दोलनमा बिशिष्ट योगदान पु¥याएकालाई प्रदान गरिने उहाँले बताउनुभयो । पुरस्कार हरेक वर्ष प्रदान गरिने र सोको लागि स्मृति कोष बनाईने समेत उहाँले बताउनुभयो । लामो समय राजनीतिमा कृयाशील शर्माको नेकपा एमाले मकवानपुरको राजनीतिमा महत्वपूर्ण योगदान रहेको थियो । एमालेलाई मकवानपुरमा स्थापित गर्ने महत्वपूर्ण एमाले नेतामध्येका एक शर्माको गत बैशाख २० गते निधन भएको हो ।