मकवानपुर– मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक सय दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक सय ३१ जनाको पीसीआर परीक्षणमा ६६ जनामा र ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ जनागरी थप एक सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा एकसय ५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमण पुष्टि हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्दो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १५२ जना आइतबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ६ हजार २१५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मकवानपुरगढी–३ की ६५ वर्षीय एक महिला, मनहरीको ७७ वर्षीय महिला र थाहा नगरको ७३ वर्षीय एक महिलाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । योसहित कोभिडको दोस्रो लहरमा हेटौंडा अस्पतालमा मात्र उपचाररत ६० जनाको मृत्यु भएको छ, भने जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९० पुगेको कार्यालयले जनाएकोे छ ।