मकवानपुर–बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा भएको मतदान बिहान ९ बजेबाट सुरु भएको मतदान दिउसो ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र मतदान गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार ४८ मतभार रहेको प्रदेशसभातर्फ ११० मध्ये एक सय ५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदान गर्नुभएको छ । मतदानमा प्रदेसभाका बिवेकशील साझाका ३ जना सांसद र माओवादी केन्द्रका एक जना सांसद गरि ४ जना र केहि दिन अघि मृत्यु भएका एक सांसद गरी ५ जना तथा स्थानीय तहबाट ५ जना अनुपस्थित हुनुभएको उहाँले बताउनुभयो ।
मतदान प्रकृयामा प्रदेश सभा सदस्यहरु विवेकशील साझाका रमेश पौडेल, बिराज भक्त श्रेष्ठ र शोभा शाक्य तथा माओवादी केन्द्रका हिमाली गोले तथा स्थानीय तहतर्फ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपीला पण्डित, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, र मेलुङ गाउँपालिकाका उपाध्यक्ष कल्पना भण्डारी गरी ५ जना अनुपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३ जनाको उम्मेदवारी रहेको छ । एमालेका तर्फबाट रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को समर्थनमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ । भने, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का कृष्णबहादुर तामाङ पनि उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा भएको मतदानको मतगणना सोही विद्यालयकै हलमा अहिले साढे ४ बजेबाट सुरु गरिने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनको परिणाम आजै साँझसम्ममा आइपुग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

No description available.