नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९ सय ४८ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ जना र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज थप ६ हजार १ सय ३५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ लाख ७ हजार ३ सय ३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार ६ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।