काठमाडौँ । सरकारले गत वर्ष र यस वर्ष गरी वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गर्ने घोषणा गरेको छ ।
छैठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान ४ जनालाई र राष्ट्रिय पत्रकारिता पुरस्कार १२ जनालाई प्रदान गरिने जानकारी दिइयो । वरिष्ठ पत्रकार सम्मानको राशी २ लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । वरिष्ठ पत्रकार सम्मान २०७६ बाट स्वर्गीय सुकदेव नेपाल–अग्नि शिखा, मरणोपरान्त काठमाडौं, हर्ष सुब्बा, सुनसरी र २०७७ बाट रघु मैनाली तथा शार्दुल भट्टराईलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्रमान बुढा (उजिर मगर) बाग्लुङ, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडाँै, शेषराज दाहाल सिन्धुली, हेमन्त बहादुर बिक बाँके, सितल साह धनुषा र २०७७ बाट दिलिप कुमार थापा मगर भक्तपुर, दिपेन न्यौपाने मोरङ, दुर्गाप्रसाद शर्मा पर्वत, शुरोजङ्ग पाण्डे दोलखा, नितु पण्डित नुवाकोट, पुनम पौडेल ललितपुरलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
पुरस्कार घोषणा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारहरुले अहिलेको अवस्थामा समाचार बेच्ने भन्दा पनि समाजबाट कोभिड मुक्त गर्न सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरुले कोभिड–१९ लाई केन्द्र बनाएर समाचार सम्प्रेषण गर्नुपर्ने, सकारात्मक सञ्चार गरी जस्तोसुकै महामारीमा पनि समाजलाई उच्च मनोबल प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री गुरुङले सकारात्मक समाचार सम्प्रेषणका लागि स्पष्ट मापदण्ड बनाउन प्रक्रियाको सुरुवात गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि गर्न राज्यले पनि लगानी गर्नुपर्ने उल्लेख गर्नुहुँदै सरकारले छिट्टै पत्रकारका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने जानकारी दिनुभयो ।