मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पौडेलले नेकपा (एमाले) का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । साथै राज्यमन्त्री अधिकारीलाई मुख्यमन्त्री पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो ।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहनुभएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो । नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले सपथ ग्रहण पश्चात आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।

प्रदेशमा अन्य मन्त्रीहरु भने यथावत रहनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्रीमा कैलास ढुंगेल हुनुहुन्छ ।