हेटौंडा– बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठिमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले प्रजातन्त्रको लागी लामो संघर्ष गरेको नेपाली कांग्रेसले फेरी पनि पूर्ण प्रजातन्त्रका लागी लड्नुपर्ने बेला आएको बताए । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउँन कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै नेता बानियाँले अहिले कम्युनिष्टहरुले लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पारेकोले एकपटक कम्युनिष्टहरुको विरुद्ध लड्नुपर्ने बेला आएको बताएका हुन् ।
उनले कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले विघठित प्रतिनिधि सभा पुनःस्थापना पहिलो एजेन्ड भएपनि सर्बोच्चको निर्णय भए निर्वाचनमा जानबाट पछि नहट्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति एवम वीपी चिन्तन प्रतिष्ठान मकवानपुरका बिष्णुप्रसाद लामिछाने, स्कुल अफ डेमोक्रेसी मकवानपुरका अध्यक्ष गोपिलाल विश्वकर्मा, नेपाल प्राध्यपक संघका अध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाल प्रजातन्त्र महासंघका अध्यक्ष कृष्णप्रसाद अर्याल, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, वीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका बागमति संयोजक सुदिप बर्तौला, नेपाल मानव अधिकार संगठन अप्सरा बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका पुर्व अध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, समाजका उपाध्यक्ष प्रदिप कोइराला लगाएतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।