मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको भुमिका प्रभावकारी रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईले अख्तियारले स्थापना काल देखि नै भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य कामहरु गर्दै आएको बताउनुभयो ।

प्रमुख प्रसाईले आयोगका पूर्व प्रमुख आयुक्त बिरुद्धनै अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया सुरु गर्नुले आयोगको विश्वसनीयता बढेको भन्दै आगामी दिनहरुमा पनि भ्रष्टाचार गर्ने सानो ठूलो जो कसैलाइ पनि प्रमाणको आधारमा कानूनको कठघरामा ल्याउने कुरामा कति पनि बिचलित नभइ काम गर्न आग्रह गर्नुभयो । संघियता र समग्र शासन प्रणाली संस्थागत गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्नुपर्ने भन्दै उहाँले सुखि नेपानी समृद्ध नेपालको महाअभियानलाई सफल बनाउन समेत आयोगको भुमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सबै सरोकारवालाहरुसँग आयोगलाइ सहयोग र सहकार्यको लागि समेत उहाँले आग्रह गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका निमित्त प्रमुख अखण्ड शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका सचिब राधिका अर्याल, प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डण्डुराज घिमिरे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।