हेटाैंडा– आज काठमाडौ उपत्यकामा २ हजार ६ सय ७२ सहित देशभर हालसम्मकै धेरै संख्यामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्गर गौतमले आज देशभर १९ हजार ३ सय २० जनामा रियलटाईम पिसिआर परिक्षण गर्दा एक हजार ८ सय २३ महिला र ३ हजार एक सय ८५ पुरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या एक लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
आज देशभर ६८ जिल्लामा थपिएका नयाँ संक्रमितहरु मध्ये सुनसरीमा ३ सय ९४, मोरङमा ३ सय ६९, रुपन्देहीमा २ सय १५, चितवनमा एक सय ४७, सुर्खेतमा एक सय ३४, दाङमा ९३, तनहूमा ५५, मकवानपुमार ५४ र कास्कीमा ५१ जनामा छन् भने बाँकी जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् । यस्तै आज देशभर एक हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।
यस्तै आज थप १४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण काठमाडौंमा ३, ललितपुर र मोरङमा २–२ जना, भक्तपुर, सुनसरी, सर्लाही, मकवानपुर, धाधिङ, नवलपसारी पूर्व र रुपन्देहीका १–१ जनाको मृत्यु भएको प्रवक्ता प्राध्यापक डा। गौतमले जानकारी दिनुभयो ।
यस्तै आज देशभरका ७५ जिल्लामा ३० हजार ८ सय १८ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये १७ हजार एक सय ६४ जना होम आईसोलेसन र १३ हजार ६ सय ५४ जना संस्थागत आईसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार गम्भीर लक्षण देखिएका ३ सय २१ जना आइ।सी।यू र ७७ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
यस्तै, चाडपर्व तथा जात्रा मनाउँदा व्यत्तिगत तह र आधारभुत तहका अत्यावश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै चाडपर्व मनाउँदा पूजा, टिकाटाला जस्ता कार्य गर्दा जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरेको हो ।मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले धेरै सम्पर्कमा आउने धार्मिक स्थल, देविदेवताका मुर्ति, टिकाटाला तथा प्रसाद ग्रहरण जस्ता कार्यमा व्यक्तिगत र आधारभुत तहमा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।