मकवानपुर– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका स्थित मानव निर्मित ईन्द्रसरोवर (कुलेखानी) जलाशयमा भोली देखि सशुल्क बल्छी खेल्न पाईने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन गर्ने उदेश्यले इन्द्रसरोवर मत्स्य व्यवसायी संघले जलाशयमा स्थान निर्धारण गरेर सशुल्क बल्छी खेल्न दिने निर्णय गरेको हो ।
जलाशयको मार्खुमा कालिदेवीथान, गैरा, मार्खुचौर र चल्खुखोला क्षेत्र र कुलेखानीको लागि औलेटको क्षेत्रमा बल्छी खेल्न पाइने इन्द्रसरोवर मत्स्य व्यवसायी संघका अध्यक्ष गोपाल भ्लोनले बताउनुभयो । अहिले संघका कर्मचारीहरुलाई टिकट बिक्रीका लागि खटाइएको छ । जलाशयमा बल्छी खेल्नका लागि स्थानीय व्यक्तिका लागि आधा दिनको ३ सय र पुरा दिनको ५ सय रुपैया शुल्क तोकिएको छ, भने बाह्य व्यक्तिको लागि आधा दिनको ५ सय र पुरा दिनको १ हजार रुपैँया निर्धारण गरिएको छ ।
जलाशयमा बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म पुरा दिन र बिहान ७ बजेदेखि दिउँसो १ बजे सम्म आधा दिन निर्धारण गरिएको छ । हालको कोरोनाको महामारीको स्थितिमा भने सामाजिक दुरी, मास्क लगायतका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र बल्छी खेल्न दिइने बताईएको छ । यसरी बल्छी खेल्न दिँदा इन्द्रसरोवर आउने पर्यटकले बल्छी खेलेर रमाउन पाउने र संघलाई समेत आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।