हेटाैंडा– नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै मृतकको कुल सङ्ख्या तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ मा कोरोनाका सङ्क्रमितको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये चार जना महिला र सात जना पुरुष छन् । मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ र ८७ वर्षीय पुरुषले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् । त्यस्तै सर्लाहीका ३५ वर्षीय र दोलखाका ६९ वर्षीय पुरुषको ज्यान गएको हो । मकवानपुरका ३९ वर्षीय पुरुष, काठमाण्डौका ३७, ८३ र ९० वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कास्कीका ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ ।