हेटौंडा–विकास निर्माणको कामलाई नजितामुखी बनाउने भन्दै जनप्रतिनिधिहरुले योजना तर्जुमा तथा योजना छनौटको कामलाई पुनर्विचार गर्न थालेका छन् । अघिल्लो दुई आर्थिक बर्षमा कनिका छरेजसरी बजेट बाँडेर सयौँ योजनाहरुको तर्जुमा गरेका वडा तहका जनप्रतिनिधिहरुले आफ्नो वडामा योजना संख्या घटाउने र जनताले अनुभूत हुने विकासको नमूना दिने प्रयास गर्न थालेका छन् । यसै क्रममा मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्काले चालू आर्थिक बर्ष २०७६÷७७ का लागि जम्मा ४ वटा मात्रै योजना निर्माण गरेका छन् ।

मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्का

वडाध्यक्ष खड्काका अनुसार न्यौपाने टोल ऋषेश्वर बाटो र बाँधका लागि ३० लाख, दीपावली टोल तटबन्धनका लागि २० लाख, ट्वाङ्ग्रा खोला पक्की पुलका लागि ५० लाख र ट्वाङ्ग्रा खोला तटबन्धनका लागि १७ लाख रुपियाँ बिनियोजन गरिएको छ । ‘सँधैभरि बजेट छरेर मात्रै पनि भएन’, वडाध्यक्षखड्काले भने–‘अब जनप्रतिनिधिले नतिजा देखाउने बेला आएको छ ।’
साबिक हाँडीखोला गाविसतर्फ निर्माणाधीन लामिटार–मकरी सडकको औचित्य र आवश्यकतालाई समेत दृष्टिगत गरी लामिटार र मसिने जोड्ने ट्वाङ्ग्रा खोलामा पक्की पुलका लागि वडाले नै अगुवाई गरी बजेट बिनियोजन गरिएको उनले बताए । त्यसैगरी गोलघरदेखि वडा नं ४ कै अत्यन्त दुर्गम क्षेत्रहरुमा पर्ने मुलखोला र ज्यामिरेसम्म तटबन्धन र बाटोको कामलाई पनि आगामी दिनमा ध्यान दिएर अघि बढ्ने उनले सुनाए । यसका लागि यसैबर्ष तटबन्धन र बाटो दुबै काम हुने गरी योजना हालिएको बताए । ‘अरु सानातिना कामका लागि कहीँकतै अरु उपायहरु खोजौँला’, वडाध्यक्ष खड्काले भने–‘जनप्रतिनिधि हुँदा खोज्दा भेटिने र सबैले देख्नेगरी सबैको हित हुने काममा यो बर्ष लगानी गर्ने कुरामा हामी सहमत भयौँ ।’
सबै वडाध्यक्षहरुलाई बढीमा ५० लाख रुपियाँको योजना सिफारिस गर्न भनिएको र त्यसमा गाउँपालिकाको तर्फबाट पनि आवश्यकता अनुसार बजेट थप गरी पूर्णता दिइने गरी योजना तर्जुमा गरी गाउँसभामामार्फत पारित गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । देखिने काम हुने गरी अघि बढ्नका लागि पहिलोबाटै वडाध्यक्षहरुलाई सचेत पारिएको र यो बर्ष केही वडाहरुले राम्रो योजना ल्याएकाले गाउँपालिका सफलतातिर अघि बढेको उपाध्यक्ष मनिला बिष्टले प्रतिक्रिया दिइन् ।