मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जारी निषेधाज्ञा आगामी १५ गतेसम्म यथावत रहने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) को आज बसेको बैठकले उक्त क्षेत्रमा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिमा सिफारीस गरेको हो ।
उक्त क्षेत्रमा जारी निषेधाज्ञा यथावत राख्न सिफारीस गरिएको कमाण्ड पोष्टका सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । निषेधाज्ञाा अहिलेकै अवस्थामा जारी रहने समेत उहाँले जानकारी दिनुभयो । संकलित स्वाब परिक्षणको नतिजाहरु अझै नआईसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण उक्त क्षेत्रमा दोस्रो पटक निषेधाज्ञा थपिएको हो । गत साउन २६ गतेबाट हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका महेन्द्र राजमार्गको दाँया वाँया ५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गते बाट थपेर भदौ ९ गते सम्म पु¥याइएको थियो । आजको बैठकबाट दोस्रो पटक आगामी १५ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाकाे थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा जारी निषेधाज्ञा पनि आगामी भदौ १५ गते सम्म यथावत रहने भएको छ । बैठकले उक्त क्षेत्रमा जारी निषेधाज्ञा पनि आगामी भदौ १५ गतेसम्म यथावत राख्न जिल्ला सुरक्षा समितिमा सिफारीस गर्ने निर्णय गरेको हो । थाहा नगरपालिकामा गत भदौ २ गतेबाट र भीमफेदी गाउँपालिकामा गत भदौ ४ गतेवाट भोली भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । आजको बैठकले उक्त निषेधाज्ञा आगामी १५ गते सम्मका लागि यथावत राख्न सिफारीस गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो ।