मकवानपुर– मकवानपुरकाे हेटाैंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो पटक थप्ने तयारी गरिएको छ । भदौ ९ गते राती १२ गतेसम्मको लागि कायम रहेको निषेधज्ञा दोस्रो पटक केहि दिन थप्ने तयारी गरिएको हो । गत साउन २६ गतेबाट हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका महेन्द्र राजमार्गको दाँया वाँया ५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गते बाट थपेर भदौ ९ गते सम्म पु¥याइएको थियो । दाेस्राे पटक आगामी १५ गते सम्मका लागि निषेधाज्ञा थप्ने तयारी गरिएको बुझिएको छ ।
भदौ ८ गते बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) को बैठक) को बैठकले यस विषयमा निर्णय गर्ने जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । यस अघिको बैठकले निषेधाज्ञाका बारेमा मोडल तयार गर्न गठन गरेको समिति र समितिका अन्य सदस्यहरुले छलफल गरेर निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । कमाण्ड पोष्टका सल्लाहकार समेत रहनुभएका प्रमुख खुलालले निषेधाज्ञा अझै केहि दिन जारी रहने सम्भावना रहेको जानकारी दिनुभयाे । जिल्लाका सम्पुर्ण संकमितहरूकाे स्वाब परिक्षणको नतिजाहरु अझै नआईसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण केहि दिन निषेधज्ञा जारी राखेर थप व्यवस्थापन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । कोरोनाको संक्रमण अझै नरोकिएको कारण थप केहिदिन निषेधाज्ञा बढाउने निर्णय गर्नसक्ने उहाँले बताउनुभयो ।
अब थपिने निषेधाज्ञाको मोडल भने केहि परिर्वतन हुने बुभिएको छ । अबको निषेधाज्ञामा बैंकिङ क्षेत्रलाई भने सहज बनाउन सकिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । बैकिङ क्षेत्रमा केहि समस्या देखिएकाले बैंकहरूलाई दैनिक केहि समय सञ्चालन गर्न दिन सकिने र अन्य विषयमा भने अहिलेकै अवस्थालाई निरन्तरता दिईने उहाँले बताउनुभयो । निश्चित समय तोकेर बैंकिङ सेवा सुचारु गर्न दिने तथा उक्त समयमा जिल्लाका सिमा नाकामा भने कडाई गरिने उहाँले बताउनुभयो । साथै हेटौंडाका सबै बैंकका एटीएम भने निरन्तर सुचारु गर्ने वातावरण मिलाइन्उे र एटीएम सुचारु गर्ने विषयमा आजै बैंकिङ क्षेत्रका सरोकारवालासंग छलफल भएको प्रजिअ नेपालले जानकारी दिनुभयो । निषेधाज्ञा थप्ने विषयमा भने भोली बिहान बस्ने कमाण्ड पोष्टका सदस्यहरुसंगको छलफलबाट मात्र निष्कर्षमा पुगिने उहाँले बताउनुभयो । यता मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् कमाण्ड पोष्टका सदस्य कृष्ण कटुवालले भने निषेधज्ञालाई केहि परिमार्जन गरेर लैजानपर्ने सुझाव लिएर बैठकमा जाने बताउनुभयाे ।