हेटौंडा–आज ऋषि पञ्चमी, हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजाआजा गरी हरितालिका तीजको व्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । 
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ । ऋषि पञ्चमीको दिन काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालुको भीड लाग्ने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण मन्दिर खुलेका छैनन् । सरकारले धार्मिक स्थल बन्द गर्न निर्देशन दिएको छ भने स्वास्थ्यकर्मीले पनि भिडभाडमा नजान सल्लाह दिएका छन् । यो वर्ष महिलाहरू घरमै सप्तऋषिको पूजाआजा गरि ऋषि पञ्चमी मनाउँदै छन् ।