मकवानपुर– कोरोनाबाट हेटौंडामा एक वृद्धको मृत्यु भएकाे छ । स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत हेटौंडा–१, का ६१ वर्षीय वृद्धमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो ।
गए राती हेटौंडा–१ स्थित घरमै निधन भएको उहाँको आज बिहान हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । सोमबार नै स्वाब नमूना सङ्कलन गरिए पनि गएराती निधन भएपछि मात्रै उनको स्वाबको नमूना आज बिहान परीक्षण गरिएको हो । स्वाब नमूनाको चापका कारण तत्काल परीक्षण गर्न सक्ने अवस्था छैन । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक जानकारी लिन बाँकी नै रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभएको छ ।
शव व्यवस्थापन गर्ने तयारीमा सेना
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै हेटौंडा–१ का एक वृद्धको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले तय गरेको शव व्यवस्थापन कार्यविधिअनुसार नेपाली सेनाले वृद्धको शवको व्यवस्थापन गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन गर्ने स्थान समेत तय गरिसकेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले सेनाको सहयोगमा सुरक्षितसाथ शवको व्यवस्थापन गरिने जानकारी गराउनुभएको छ । केही बेरमै नेपाली सेनाले शव व्यवस्थापन गर्ने उपमेयर लामाले बताउनुभयो ।