मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा–९ स्थित निर्माणाधिन मदन बाल उद्यान पार्कको अवलोकन गर्नुभएको छ । सोमबार जिसस प्रमुख खुलालले बाल निर्माणाधिन पार्कको अवलोकन गर्नुका साथै पार्कका बारेमा जानकारी समेत लिनुभएको छ ।

करीब ३ हेक्टर क्षेत्रमा निर्माणाधिन पार्कमा अहिले सरसफाई तथा ट्रयाक निर्माणको काम भईरहेको छ । ८ लाख रुपैयाँ लागतमा हाल पार्कको कम्पाउण्ड वालको काम सकिएको साथै भित्रको भागमा भएको बोटबिरुवालाई संरक्षण गर्दै सरसफाइ तथा ट्रयाक निर्माणको काम भइरहेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पार्कमा अहिले ‘श्रममा आधारित राहत कार्यक्रम’ मार्फत सरसफाई तथा ट्रयाक निर्माणको काम भईरहेको छ । सरसफाईमा हाल सम्म विभिन्न टाेल विकास संस्थाबाट १८३ जनाले ‘श्रममा आधारित राहत कार्यक्रम’ मार्फत काम गर्नुभएको टोल विकास संस्था वडा समन्वय समितका संयाेजक यदुवंश खतिवडाले बताउनुभयो ।