हेटाैंडा– बागमती प्रदेश सरकारले आगामी वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने भएकाे छ । साेहि अनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कोरोनाले महामारीको रूप लिएपछि बागमती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो ।

बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म तथा योग सेवासहित सुदृढीकरण गरिने र प्राकृतिक एवं वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गरिने भनिएको छ ।

हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको बनाउने नीति तथा कार्यक्रममा छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १०० श्यया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । धादिङ र चौतारालाई ५० श्यया तथा रामेछाप र रसुवा अस्पताललाई २५ श्यया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिनेछ ।

प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइनेछ । वाग्मती सरकारले कोभिड–१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व, भरपर्दो वितरण सञ्जाल र उद्यमशीलताको विकास गर्न प्रदेश सरकारबाट दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्धतिमार्फत न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ । यसका लागि ऋण उपलब्ध गराउने वा ब्याज अनुदान दिने विषय कार्यविधि तर्जुमा गरी व्यवस्थित गरिने जनाइएको छ ।