हेटाैंडा– काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्य लकडाउनका कारण प्रभावित बनेको आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभएकाे छ । यद्यपि, हालसम्मको स्थितिमा तोकिएको समयभित्र आयोजना पूरा गर्न कुनै असर नपुग्ने उहाँको भनाइ छ । ‘हामीले ११ वटा क्लस्टर बनाएर एकैपटक काम गरिरहेका छौं’, बुधबार सेनाले आयोजना गरेको भिडियो कन्फरेन्समा उहाँले भन्नुभयाे , ‘अहिलेको स्थितिलाई म्यानेज गर्न सकिन्छ । यस्तै अवस्था रहिरहे अन्य विकल्पबारे पनि सोच्नुपर्छ ।’

लकडाउनका कारण परामर्शदाता पनि काठमाडौं आउन नसकेको उहाँले बताउनुभएकाे छ । सेनाले योसिन इञ्जिनियरिङ कर्पोरेसन, कोरिया जेभीलाई परामर्शदाता छनौट गरेको थियो । ‘सेनाले गर्ने फाउन्डेसनको काम सकिसकेको छ’, प्राविधिक सहायक रथी श्रेष्ठले भन्नुभयाे, ‘योसँगै अब फास्ट ट्याक निर्माणको कार्य दोस्रो चरणमा पुगेको छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय परामर्शदाता आएपछि पुल र सुरुङ निर्माणको कार्य थालिनेछ ।