इजरायलको चेतावनीपछि इरानको मशहद शहरमा सबै रेल सेवा रद्द भएको छ । रेल सेवामा आक्रमण गर्ने इजरायलको चेतावनीपछि सावधानीका रूपमा अर्काे सूचना नभएसम्मका लागि रेल सेवा रद्द गरेको मशहदका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गभर्नर हसन होसेनीले अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुहरूका लागि सडक यातायातको व्यवस्था गरेको बताउनुभएको छ । यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले इरानका नागरिकलाई आज रेलमा यात्रा नगर्न चेतावनी दिएको थियो । राजधानी तेहरानको दक्षिणी क्षेत्रसहित इरानका केही भागहरूमा आवासीय क्षेत्रहरू नजिकै रेल ट्र्याकहरू रहेका छन् । मध्यपूर्वमा चलिरहेको अमेरिका–इजरायल र इरानबीचको युद्धमा नागरिक पूर्वाधारहरूलाई लक्षित गर्दै आक्रमण भइरहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिए पनि इरान हर्मुज जलमार्ग नखोल्नेमा अडिग रहेको छ । ट्रम्पले दिएको समयसीमा नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे सकिन्छ । तर इरान त्यसको बेवास्ता गर्दै जलमार्ग नखोल्ने अडानमा कायम रहेको बीबीसीले जनाएको छ । इरानी सरकारले विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा सङ्गठनहरूलाई पावर प्लान्ट आसपास मानवसाङ्लो बनाएर उभिन अपील गरेको छ ।

पाकिस्तानको मध्यस्थतामा अमेरिकाले तत्काल युद्धविराम गर्न राखेको प्रस्ताव पनि इरानले अस्वीकार गरेको छ । प्रस्तावमा हर्मुजको नाकाबन्दी हटाउने र त्यसको १५ देखि २० दिनभित्र बृहत्तर शान्ति सम्झौताका लागि वार्ता गर्ने प्रस्ताव थियो । इरानले त्यसलाई अस्वीकार गरेर १० बुँदे प्रस्ताव पठाएको छ ।

यसअघि वार्ता चलिरहेको बेलामा अमेरिकाले आक्रमण गरेका कारण इरानले युद्धविराम नभएर स्थायी सम्झौता गर्न खोजेको छ । इरानको प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा चलिरहेका सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि मापदण्ड, आफूविरुद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको छ ।

ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका भए पनि त्यो प्रयास सफल हुने सम्भावना कम हुँदै गएको रोयटर्सले उल्लेख गरेको छ ।