मकवानपुर, चैत्र २४ । बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि सुरू भएको छ । हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको सभाहलमा बैठक बसेको हो ।
आजको बैठकमा उपसभामुख अप्सरा चापागाईँले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नुभएको थियो । उहाँले तत्कालीन सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट दिनुभएको राजीनामा तथा छ जना प्रदेशसभा सदस्यले दिनुभएको राजीनामाबारे सभालाई जानकारी गराउनुभयो ।
यस्तै उपसभामुख चापागाईँले सभामुख एवम् उपसभामुख बैठकमा अनुपस्थित रहेको अवस्थामा सभा सञ्चालनका लागि मनोनीत गर्नुभएका चार सदस्यको नाम बैठकले स्वीकृत गरेको छ । मनोनीत हुनेहरू सुना परियार, सुष्मा भुजेल न्यौपाने, हरिप्रसाद सापकोटा र लक्ष्मी घिमिरे रहनुभएको छ ।
बैठकको विशेष समयमा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संघीय सरकार संघीयताप्रति प्रतिबद्ध रहेकाले प्रदेशले छिट्टै संवैधानिक अधिकार पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले सुशासन प्रवद्र्धनका लागि काम गर्ने उल्लेख गर्नुहुँदै प्रदेशका विभिन्न जिल्लामा बहुवर्षीय योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको बताउनुभयो ।
बैठकमा बोल्दै सत्तारूढ दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संघीय सरकार अधिनायकवादी बाटोमा हिँडेको र राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रियताका मुद्दामा सरकार मौन रहेको र वैदेशिक ऋणको भार बढाएर जनता ठग्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।
त्यस्तै पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपाका नेता शालिकराम जम्कट्टेलले संसदबाट पारित बजेटमा ’कैँची’ चलाएर सरकारले विधिको शासन उल्लंघन गरेको र विकास बजेट कटौती गरी कुशासनतर्फ लागेको आरोप बताउनुभयो । संसदीय अधिकार मिचेर धमाधम बजेट रकमान्तर र बहुवर्षीय योजना कटौती गरिएको भन्दै उहाँले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुभयो ।
बैठकमा पूर्वमुख्यमन्त्री एवम् कांग्रेस सांसद बहादुर सिंह लामाले संसदले पारित गरेको बजेट र विधिलाई सरकारले मान्नुपर्ने भन्दै प्रशासनिक स्थिरताका लागि सचिवहरूको छिटो सरुवा रोक्न र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्नुभयो । यस्तै राप्रपाका नेता उद्धव थापाले १,६७१ योजनामा बजेट कटौती गरेको र महँगी बढ्दा पनि जम्बो मन्त्रिमण्डल बनाएर सरकार कुशासनमा रमाएको भन्दै कार्यशैली सच्याउन आग्रह गर्नुभयो । भने नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले अमेरिकी दूतावासले सिधै युवाहरूका लागि आवेदन आह्वान गर्नु वैदेशिक हस्तक्षेप भएको दाबी गर्दै सरकारलाई ऋणको पासोबाट उम्किएर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार भोली बिहान ११ः०० बजे बस्नेछ ।











