मकवानपुर, चैत्र २१ । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको बृहत् एकीकृत घुम्ती शिविरमार्फत घरघरमै सेवा प्रवाह गरेको छ । “सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार” भन्ने नारासहित सञ्चालन गरिएको शिविर कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चैत ११ गतेदेखि विभिन्न वडामा चरणबद्ध रूपमा शिविर सञ्चालन गरि रहेको छ । शिविरमार्फत रोजगार, महिला विकास, लघु उद्यम, एलोपेथिक तथा आयुर्वेद स्वास्थ्य सेवा, कृषि तथा पशुपन्छी, पोषण तथा सरसफाइ, सामाजिक सुरक्षा लगायतका सेवा एकै स्थानबाट उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छीतर्फ किसानलाई तरकारी, मकै र घाँसको बिउ तथा औषधि वितरण गरिएको छ भने मिनी टिलर, स्प्रे पम्प र ग्रीन नेटलगायतका सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै स्वास्थ्य सेवातर्फ आयुर्वेद स्वास्थ्य परीक्षण गरी औषधि वितरण र सामान्य स्वास्थ्य परीक्षण सेवा तथा पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।
यस्तै सामाजिक सुरक्षाअन्तर्गत अपाङ्गता परिचयपत्र प्रदान गर्नुका साथै आगलागी तथा हुरीबतासबाट प्रभावितहरुलाई रातह वितरण र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको अध्यक्ष मल्ले बताउनुभयो । शिक्षा क्षेत्रतर्फ ‘एक विद्यालय, एक ल्यापटप’ कार्यक्रम ल्यापटप र प्रिन्टर वितरण गरिएको छ । भने, वडा नम्बर ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा पुस्तकालय उद्घाटन गरिएको उहाँले बताउनुभयो । यस्तै न्यायिक समितिमार्फत लैंगिक तथा घरेलु हिंसा तथा कानुनी उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने लघु उद्यमतर्फ एक जनालाई मौरीपालन प्रविधि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
वृहत एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाले स्वास्थ्य जाँच र औषधि वितरणदेखि कृषि तथा पशुपंक्षीका औषधिसमेत वितरण गरेपछि स्थानीय हर्षित बनेका छन् । वडामा स्थान तोकेर निश्चित सेवा उपलब्ध गराइएकोमा अशक्तलाई भने घरमै पुगेर स्वास्थ्य उपचार र निशुल्क औषधि उपलब्ध गराइनुका साथै ज्येष्ठ नागरिकको घरघरमा पुगी उनीहरुको लालनपालनको अवस्था बुझ्ने र उनीहरुलाई पोषिलो खानेकुरा वितरणका साथ सम्मानसमेत गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको हेरचाहको अवस्था बुझ्नुका साथै अपहेलनामा परेको भए उनीहरुको परिवारलाई परामर्श दिने उद्देश्यले ज्येष्ठ नागरिक सम्मान तथा घरघरमै भेटघाटमा पुगेको मल्लले बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा समेत दुर्गम क्षेत्रमा सेवा पहुँच विस्तार गर्न यस्ता घुम्ती शिविर कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।











