हेटौँडा, चैत १५ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिनु भएकाे छ । उहाँले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाउनु भएकाे हाे ।
२०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ वर्षका लागि नियुक्त हुनुभएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई मुख्य कारण देखाउदै राजीनामा दिनु भएकाे हाे । राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गर्नु भएकाे छ । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उहाँकाे दाबी छ ।
अध्यक्ष भण्डारीले राजीनामापत्रमार्फत मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गर्नु भएकाे छ । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटकपटक ऋण तथा अनुदानका लागि अनुरोध गरे पनि मन्त्रालयबाट ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उहाँकाे गुनासाे छ ।