हेटौँडा, चैत ८ । हेटौँडा–४ स्थित मकवानपुर जिल्लाकै पुरानाे भुटनदेवी माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तरतर्फ उन्मुख भएकाे छ । अन्तर्राष्ट्रिय स्तरकाे भाैतिक एवम् शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले विद्यालय ‘आईएसओ’ (ISO) प्रमाणिकरण प्रक्रियामा जाने भएको हाे ।
यसका लागि विद्यालय र ग्लोबल क्वालिटी काउन्सिल, नेपालबीच आइतबार एक कार्यक्रमका बीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा काउन्सिलका प्रतिनिधि सुदीप शर्माले हस्ताक्षर गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक घिमिरेका अनुसार अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ । यसअन्तर्गत विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ तथा विद्यालय अनुगमन समितिका सदस्यहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले आगामी २०८३ साल चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण प्राप्त गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको भौतिक संरचना सुधार तथा शैक्षिक वातावरणलाई अन्तर्राष्ट्रिय स्तरअनुसार विकास गरिनेछ ।
ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले विद्यालयको प्रारम्भिक अवस्थाको अध्ययन सम्पन्न भइसकेको र आगामी तीन वर्षका लागि शैक्षिक गुणस्तर सुधार योजना तयार गरिएको जानकारी दिनुभयो । उहाँले भुटनदेवी मावि मकवानपुरकै पहिलो सामुदायिक विद्यालयका रूपमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण हासिल गर्ने लक्ष्यमा रहेको बताउनुभयो ।
विभिन्न चरणमा भएका छलफल तथा अन्तरक्रियापछि विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, विद्यालय अनुगमन समिति तथा टोल विकास संस्थाका प्रतिनिधिहरूबीच सहमति जुट्दै सम्झौता गरिएको विद्यालयका सह–प्रधानाध्यापक तथा आईएसओ संयोजक वेदराज कोइरालाले जानकारी दिनुभयाे । सरोकारवालाहरूको सहकार्यबाट विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।