हेटौँडा, चैत १ । मकवानपुरमा ‘वन डढेलो व्यवस्थापन सप्ताह’ आजदेखि सुरु भएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिने भएको हो ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित देशभर सुरु भएको सप्ताह मकवानपुरमा पनि विविध जनचेतनामूलक कार्यक्रममार्फत मनाइने डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रबंशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्ताहअन्तर्गत चैत १ देखि ७ गतेसम्म जिल्लाका विभिन्न सब–डिभिजन वन कार्यालय क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । सप्ताहभर गोष्ठी, तालिम, र्यालीलगायत कार्यक्रमका साथै वन क्षेत्रमा अग्निरेखा निर्माण, सडक तथा राजमार्ग छेउछाउ सरसफाइ जस्ता गतिविधि सञ्चालन गरिनेछन् ।
सप्ताहको पहिलो दिन आज सबडिभिजन वन कार्यालय मकवानपुरगढी मा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । यसैगरी चैत २ गते हर्नामाडी सबडिभिजन वन कार्यालय, चैत ३ गते भीमफेदी सबडिभिजन वन कार्यालय, चैत ४ गते छतिवन र बकैया सबडिभिजन वन कार्यालय, चैत ५ गते फापरबारी सबडिभिजन वन कार्यालय, चैत ६ गते राईगाउँ सबडिभिजन वन कार्यालय र चैत ७ गते हेटौँडा सबडिभिजन वन कार्यालय मा कार्यक्रम सञ्चालन गरिने प्रमुख चन्द्रबंशीले बताउनुभयो । डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण रहेकाले सप्ताहअन्तर्गत सञ्चालन हुने कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
वन डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत तथा मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले यसको रोकथामका लागि समयमै तयारी, समन्वय र जनचेतना आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन डढेलो व्यवस्थापन रणनीति–२०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म देशभर ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउने गरिएको छ।











