हेटौंडा, माघ १२ । इन्द्रसरोवर तालमा पानी बोकेको गाडी खसेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवर तालमा खसेको छ ।
कंलकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको आईचर गाडी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको प्रहरीले जनाएकाे छ ।
मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादवको टोली घटनास्थल पुगेर तालमा डुबिरहेको गाडी निकाल्ने प्रयास गरिरहेको छ । गाडीसाहु ललितपुर–११ शङ्खमुलका दिगज अमात्य, चालक गोरखा, सुलिगढ–१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुर, मकवानपुरगढी–३ का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा छन् । गाडी तालमा खसे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।











