मकवानपुर । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचन प्रक्रिया सुरु भएको छ । मंगलबार दलका नेता एवम् मुख्यमन्त्री बाहदुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्तावलाई बहुमतले पारित भएपछि दलको नेता चयन गर्ने प्रक्रिया सुरु भएको हो ।
संसदीय दलको बैठकमा मङ्गलवार भएको मत विभाजनमा मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुर सिंह लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा मात्र १५ मत परेको थियो । यस मत परिणामसँगै लामा संसदीय दलको नेताको पदबाट पदच्युत हुन पुग्नु भएको हो । 
यससंगै बागमती प्रदेश काङ्ग्रेस संसदीय दलको कार्यालयले दलको नेताको निर्वाचन  तालिका सार्वजनिक गरेको छ। प्रदेश कार्यसम्पादन समितिद्वारा गठन गरिएको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले सार्वजनिक गर्नु भएको तालिका अनुसार साउन १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन साउन १४ गते बिहान ९:३० बजे हुने छ भने उम्मेदवार दर्ता साउन १५ गते बिहान ११ बजे सुरु हुनेछ। पहिलो नामावली प्रकाशन त्यही दिन बिहान ११:३० बजे हुनेछ । उम्मेदवार विरुद्ध उजुरी बुझाउने समय दिउँसो १२ देखि २ बजेसम्म रहनेछ भने अन्तिम नामावली साउन १५ गते दिउँसो ३ बजे सार्वजनिक हुने उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार मतदान साउन १५ गते दिउँसो २ देखि ३ बजेसम्म हुनेछ। निर्वाचनमा मतदाता परिचयपत्र वा अन्य प्रमाणसहित उपस्थित हुनुपर्ने जनाइएको छ । मतदान नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय परिसरमा हुने साथै निर्वाचन परिणाम मतदान सकिएलगत्तै सार्वजनिक गरिने समितिले जनाएको छ ।