४ चैत, काठमाडौं । शनिबार राति करिब १० बजे दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका श्रीकृष्ण तामाङ झण्डै २ घण्टा अध्यागमनको लाइनमा बसे । एक हप्ताअघि दुबई उड्नुअघि पनि २ घण्टा नै लाइन बसेका उनले फर्किंदा पनि त्यही सास्ती भोग्नुपर्‍यो ।

‘हामीलाई भन्दा बढी समस्या विदेशी पर्यटक र यात्रुलाई परेको देखें, प्रक्रिया यसरी प्रक्रिया पूरा गर्नुस् भनेर जानकारी दिने एक जना मान्छे राखिएको देखिएन,’ उनले भने,‘कतै भिसा प्रक्रिया र लाइनबारे जानकारी दिने स्पष्ट सूचनासहितको बौर्ड पनि छैनन्, भीडलाई च्यानलाइज गरिएको नै छैन, विमानस्थलमा सेवा अस्तव्यस्त छ ।’ मान्छेहरु अलमलिएको, कराएको र सिकाउने तथा अह्राउने मान्छे समेत नभएको अवस्थामा विदेशी पर्यटकहरु झन् अन्योलमा परिरहेको देखेर उनी खिन्न भए ।

शनिबार राति नै कतार उड्न विमानस्थल पुगेका नवीन पुडासैनीले करिब २ घण्टा लाइनमा नै पालो कुरे । विमानस्थलमा अत्यासलाग्दो लाइनमा फसेका उनलाई अध्यागमन पार हुँदासम्म जहाज नै छुट्ने हो कि भन्ने डर भयो । उनका अनुसार बोर्डिङ पास लिने क्षेत्रको एलिभेटरदेखि नै यात्रुको लाइन थियो ।

‘एयरपोर्ट पुग्न केही ढिलाइ भएको थियो, लामो लाइनमा फस्दा त वेटिङ रुममा नै पुग्न नपाई विमान उड्ला भन्ने डर भयो,’ पुडासैनीले भने,‘यस्तो विकाराल समस्या हुँदा पनि किन ध्यान नदिइएको होला ।’