राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ ग्रहण गर्नु भएकाे छ । राष्ट्रपति भवन शितल निवासम आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराउनु भएकाे हाे।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित हुन भएकाे थियाे । दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनु हुन्थ्याे । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर सकृय हुनुहुन्छ । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य हुनु हुन्छ ।
दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद हुनुहुन्थ्याे । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित हुनु भएका उहाँ २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित हुनु भएकाे थियाे । २०१२ सालमा जन्मिनु भएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्नुहुन्छ ।