मकवानपुर । हेटौंडामा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा न्युरोड फुटबल क्लब (एनआरटी) ले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । हेटौंडा–६, स्थित गौरीटार बहुउदेश्य रंगशालामा बुधबार भएको खेलमा एनआरटीले साविक उपविजेता हिमालयन शेर्पालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै एनआरटी क्वाटरफाईनलमा प्रवेश गरेको छ । भने, हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा एनआरटीका लागि खेलको १४औं मिनेटमा सरोज तामाङले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको पहिलो हाफकै २९औं मिनेटमा एनआरटीका लागि रोहन खड्कीले थप गोल गरेका थिए । भने दोस्रो हाफको ४० मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच एनआटीका सरोज तामाङ घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा भोलि मछिन्द्र युवा क्लब र एपिएफबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैठौं संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भोली मछिन्द्र युवा क्लब र एपिएफबिचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाईएको छ ।