file photo

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ हेभिमा भएको दुई छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार हेटौंडा काठमाडौं जोड्ने छोटो मार्गको सडक अन्तर्गत काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा७३प ९०६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी १० मिटर तल सडकमा खस्दा मोटरसाइकलमा सवार दाङकी २३ वर्षीया आसिका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका ५ थानकोट बस्ने २६ वर्षीय ओम कुमार रानामगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी शनिबार इन्द्रसरोवर-२ हेभिमै हेटौंंडाबाट काठमाडौं जाँदै गरेको बा९०प २६०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भइ हाल काठमाडौंमा डेरा बस्ने ३५ वर्षीय विकास जैसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जैसवाललाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार भारत घर भएका १८ वर्षीय गौतम कुमार घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।