मकवानपुर – बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआतका लागि बागमती प्रदेशसभाको सचिवालयले तयारी थालेको छ । प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना अन्तिम चरणामा रहेकाले प्रदेशसभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।

प्रदेशसभा हल मर्मतसम्भार, रङ्गरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ । प्रदशेसभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयले जनाएको छ । प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरुमा रङ्गरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन् । सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको बताइएको छ । संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ । संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको सचिवालयले जनाएको छ ।
त्यस्तै नयाँ प्रदेशसभा सदस्यलाई सहजताका लागि पाँच वर्षसम्म भएगरेका कामको विषयमा जानकारी गराउने कार्यक्रम समेत हुने बताइएको छ । बागमती प्रदेशको प्रत्यक्ष तर्फ दोलखा जिल्लाको एक प्रदेशसभाको परिणाम सार्वजनिक हुन बाँकी छ, भने समानुपातिक तर्फको पनि केहि बाँकी छ । अबको केहि दिनभित्र बागमती प्रदेशले प्रत्यक्ष र समानुपातिक गरि १ सय १० जना प्रदेशसभा सदस्यहरु पाउने छ ।