करका दरहरू हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई आज समितिको प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक, २०७९ मा करका दरहरू हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चार माध्यमहरूमा आएको थियो र सो विषयलाई लिएर सांसदहरुले समेत सदनमा कुरा उठाएपछि त्यस सम्बन्धमा सत्यतथ्य छानविन गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानविन विशेष समिति बनेको थियो । समितिका तर्फबाट सभापति लक्ष्मणलाल कर्णले आज सभामुख अग्निप्रसाद सापकोटा समक्ष समितिले तयार गरेको प्रतिवेदन पेश गर्नु भएको संसद् सचिवालयले जनाएको छ ।














