काठमाडौँ । नेपाली काँग्रेसले आगामी संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धनका दलहरूसँग गठबन्धन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अहिलेको सत्ता गठबन्धनलाई नै चुनावसम्म निरन्तरता दिएर जानुपर्ने निर्णय गरेको हो ।
काँग्रेसलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद र चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेको नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो । यसरी तालमेल गरिरहँदा काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, साङ्गठनिक वस्तुस्थिति तथा पार्टी पङ्क्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा. महतले बताउनुभयो । काँग्रेसले वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको पनि उल्लेख गरेको छ । काँग्रेसले स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो ।











