काठमाडौँ – निर्वाचन आयोगले राजनैतिक दलहरूबीच सहमति भएपछि मात्रै स्थानीय निर्वाचन सम्बन्धी आचारसंहिता लागु हुने जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आचारसंहितामा थप स्पष्ट गर्न माग गर्दै आयोगमा लिखित निवेदन दिएको हुनाले दलहरू बीच छलफल पछि मात्रै आचारसंहिता लागु हुने बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरूको सूची समेत हेरफेर गरेको छ । आयोगले यही चैत्र १३ गते सार्वजनिक गरेको सूचीबाट ७१ जनालाई हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो । विभिन्न कारणबाट निर्वाचनमा खटिन नसक्ने सूचना दिएका निर्वाचन अधिकृतहरूलाई हटाएर नयाँ नियुक्त गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यसैगरी आयोगले स्थानीय तह निर्वाचनमा खटिने अधिकृतहरू लाई यही चैत्र ३० गते र वैशाख २ गते तालिम दिने निर्णय गरेको र त्यसका लागि प्रशिक्षक प्रशिक्षण तालिम समेत सम्पन्न गरिसकेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा निर्वाचन अधिकारीहरूलाई प्रदेशस्तरमा निर्वाचन सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी रहेको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।











