मकवानपुर – नमुना विद्यालयका रूपमा छनौट भएको हेटौंडा उपमहानगरपालिका–८, कमाने स्थित चन्द्रोदय माविको प्रशासकिय भवन र क्यान्टीन भवन निर्माणको काम सुरु भएको छ । सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तरगत विद्यालयमा भौतिक पूर्वाधार निर्माणको काम थालिएको हो ।

नमुना विद्यालय कार्यक्रम अन्तरगत भौतिक पूर्वाधार विकास कार्यक्रम तर्फ कुल ९९ लाख रकम मध्ये ३५ लाखको लागतमा प्रशासकिय भवन र ६५ लाखको लागतमा क्यान्टीन निर्माण हुन लागेको छ । शनिबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले ३५ लाख लागतमा निर्माण भईरहेको विद्यालयको प्रशासकिय भवनको पहिलो तल्लाको ढलान कार्यको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रमुख खुलाले भौतिक पूर्वाधारसंगै शिक्षाको गुणस्तरमा समेत नमुना बनाउन ध्यान दिन आग्रह गर्नुभयो । विद्यालयको शैक्षिक विकासको लागि गुरुयोजना निर्माण गरेर अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।

कक्षा १२ सम्म सञ्चालित विद्यालयमा ९५० भन्दा बढी विद्यार्थी अध्यनर रहेको विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले बताउनुभयो । प्रशासकिय भवनको पहिलो तल्ला र क्यान्टीन निर्माणका लागि कुल ९९ लाख बजेट रहेको बताउनुहुँदै उहाँले आगामी वर्षको थप बजेट मार्फत दुई तल्ले प्रसासकिय भवन निर्माणलाई पूर्ण गर्ने योजना रहेको बताउनुभयो । विद्यालयको समग्र शैक्षिक विकासमा नमुना कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, पीटीए सदस्यहरुलगायत शिक्षक तथा स्थानीयको उपस्थिती थियो ।











