मकवानपुर – मकवानपुर जिल्लाका स्थानीय तहहरुको सहभागितामा बिहीबार स्थानीय तह समन्वय बैठक बसेको छ । बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको बैठकले प्रकृतिक स्रोतको व्यवस्थापन, स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता संचालन, राष्ट्रिय जनगणना सफल बनाउने लगायत विषयमा छलफल भएको छ ।

बैठकले प्रकृतिक स्रोत मध्ये नदिजन्य पदार्थ (ढुंगा,गीट्टी बालुवा) को सन्दर्भमा स्थानीय तहमा बाँकी स्टक प्रमाणित गर्न, जरीवाना गर्नुपर्ने भए साे कार्य गर्न साथै सबै स्थानीय तहलाई तत्काल आईई स्वीकृत गरि ठेक्का व्यवस्थापन गर्न सुझाव दिएको छ ।

त्यस्तै बैठकले कोभिडका कारण गत वर्ष जिल्ला समन्वय समिति मकवानपुरले सञ्चालन गर्ने तयारी गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन गर्ने निर्णण गरेको छ । जिल्ला समन्वय समितिको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा जिल्लाका १० वटै स्थानीय तहहरुको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । त्यस्तै बैठकले राष्ट्रिय जनगणना सुरु भएकाले त्यसमा सबै स्थानीय तहहरुले सहयोग र समन्वय गरि राष्ट्रिय जनगणनालाई सफल बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, उपाध्यक्ष उमा लामा, कैलाश गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुकुमाया थिङ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।











