काठमाडौँ – नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएकाले वर्तमान सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत पनि नदिने निर्णय गरेको जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीले बैठकले अदालतको फैसलालाई संविधान संशोधन हुने गरी आएको ठहर गर्दै यसलाई स्वीकार गर्ने निर्णय समेत गरेको बताउनुभयो । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ ।
यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा बस्ने बताउनुभयो । उहाँले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताउनुहुँदै आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने स्पष्ट पार्नुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू उपस्थित स्थायी कमिटी बैठक चलिरहेको बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गर्नुभएको थियो ।











