मकवानपुर – मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा फाउण्डेशनका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको “श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार” वितरण सम्बन्धी कार्यविधि बनाउने भएको छ । फाउण्डेसनको आज बसेको बैठकले “श्रीचन्द्र शर्मा स्मृति सम्मान” कोष सञ्चालन एवम् पुरस्कार वितरण सम्बन्धी कार्यविधि बनाउने निर्णय गरेको हो ।
फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कोष सञ्चालनका लागि कार्यविधि बनाउन फाउण्डेसनका सचिव आशाकाजी श्रेष्ठ र सदस्य मुकुन्द अधिकारीलाई जिम्मा दिएको छ । आगामी साउन १५ गतेसम्म कार्यविधिको मस्यौदा तयार गर्ने गरि उहाँहरुलाई जिम्मेवारी दिईएको खुलालले जानकारी दिनुभयो । यस्तै बैठकले आगामी तीन महिना भीत्र कोषमा न्युनतम रकम जम्मा गर्न पहल गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।
फाउण्डेशनले मकवानपुरे लोकतान्त्रिक अन्दोलनमा बिशिष्ट योगदान पु¥याएका व्यक्तिलाई श्रीचन्द्र शर्माको स्मृतिमा सम्मान प्रदान गर्ने गरि तयारी गरेको छ । हरेक वर्ष प्रदान गरिने पुरस्कार लागि स्मृति कोष बनाईएको हो । लामो समय राजनीतिमा कृयाशील शर्माको नेकपा एमाले मकवानपुरको राजनीतिमा महत्वपूर्ण योगदान रहेको थियो । एमालेलाई मकवानपुरमा स्थापित गर्ने महत्वपूर्ण एमाले नेतामध्येका एक शर्माको गत बैशाख २० गते निधन भएको हो । बैठकमा फाउण्डेसनकी प्रदेश सदस्य जुनेली श्रेष्ठ, कोषध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, मदन भण्डारी स्पार्ट एकेडेमीका केन्द्रिय सदस्य नविन सिग्देल, फाउण्डेसनका सदस्य भवानी शर्मालगायतको उपस्थिती थियो ।