हेटौंडा– वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्त सम्ममा सम्पन्न हुने बताउनु भएको छ । “रुवी भ्याली एकीकृत विकास परियोजना” सम्बन्धि अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंडा फर्कनु भएका मन्त्री फुयालले २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिनेगरी काम गरिने बताउनुभयो ।

मन्त्री फुयालले नयाँवर्षको अवसरमा बैशाख १ गते रुवीभ्यालीमा विशेष पर्यटन उत्सव मनाउने समेत जानकारी दिनुभयो “वैशाख १ गते मोटर चढेर रुवीभ्याली जाऔँ र नयाँ वर्ष मनाआंै” भन्ने नारा समेत तय भएको उहाँले बताउनुभयो । रुवीभ्याली मानव विकास सूचकाङ्कमा वाग्मती प्रदेशको सबैभन्दा पछाडि रहेको र हालसम्म सडक मार्गले समेत नजोडिएको क्षेत्र भएपनि पर्यटन तथा प्राकृतिक सम्पदाले धनी रहेको मन्त्री फुयालले बताउनुभयो । रुवीभ्यालीमा मोटर पुगेपछि मोटरबाटै हिमशिखरहरुको शयर गर्न सकिने उहाँको भनाई थियो । रुवीभ्याली भित्र १२ महिना हिउँपर्ने स्थानमा पनि सहज ढंगमा मोटर लान सकिने भूबनोटको फाइदा लिएर रुवीभ्यालीले विकासमा र समृद्धिमा फड्को मार्न सक्ने उहाँले बताउनुभयो ।
उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालय, जिल्ला समन्वय समिति, धादिङ, रुवीभ्याली गाउँपालिका तथा धादिङमा रहेका राजनीतिक दलहरु, बुद्धिजीवी, पर्यटन व्यवसायीहरु, नागरिक समाज र विज्ञहरु सहितको उपस्थितिमा रुवीभ्यालीमा “रुवीभ्याली एकीकृत विकास परियोजना” सम्बन्धि अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । मन्त्री फुयालले कार्यक्रममा धादिङबेसी, साङ्कोष, टिप्लीङ सडक यो वर्षको अन्त्य सम्ममा निर्माण गरिसक्ने र २०७८ बैशाख १ गते रुवीभ्यालीका जनताले नयाँ वर्ष मनाउदा गाडी पुर्याइसक्ने अठोट गरेको बताउनुभयो ।

उहाँले यसै वर्ष काम सक्नेगरी रुवीभ्याली जोड्ने सडकमा पर्ने ४ वटा खोला मध्ये २ वटा पुल संघीय सरकारले बनाउने र २ वटा पुल प्रदेश सरकारले बनाउने जानकारी दिनुभयो । अस्पताल, खानेपानी, विद्यालयहरु, नदी नियन्त्रण, पहिरो नियन्त्रण, स्थानीय रितिरिवाजको संरक्षण, पर्यटन प्रवद्र्धन, रुवि, जस्ता, क्रिस्टल खानीहरूको उत्खननको सम्भावना, पर्वतारोहण स्कूल सञ्चालन, सात दिने रुवीभ्याली पर्यटन महोत्सवको आयोजना, कृषि प्रवद्र्धन (सिमी, आलु, चौरी पालन, भेडा पालन, च्याङ्ग्रा पालन), जडीबुटी उत्पादन जस्ता क्रियाकलापहरू अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।











