हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहिबार मन्त्रीहरुसँग एक वर्षे कार्य सम्पादन करार सम्झौता गर्नुभएको छ । चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते मन्त्रीहरुसँग मुख्यमन्त्री पौडेलले लिखित रुपमा कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मुख्यमन्त्रीले सम्झौता गरेर काम सुरु गर्न लागेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले र सम्बन्धित मन्त्रालयका मन्त्रीले हस्ताक्षर गरेको सम्झौता पत्र आदान प्रदन गरिएको छ । सम्झौतामा ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कार्यहरु गर्ने’ उल्लेख गरिएको प्रमुख सचिब तोयम रायाले जानकारी दिनुभयो । मन्त्रीहरुसँगको कार्यसम्झौता प्रदेशको नयाँ अभ्यासको थालनी भएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । संघीय सरकारले सुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक अभ्यास गर्न लागेको बताउनुभयो । प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्ने गरी एक वर्षको काम गर्ने प्रतिवद्धतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । कार्यसम्पादन सम्झौताले प्रदेश सरकारलाई नैतिक दबाव पर्ने बताउनुभयो । प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीहरुसँग गर्नुभएको सम्झौताअनुसार नै मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग र सचिवले मातहतका विभाग तथा कार्यालय प्रमुखसँग सम्झौता गर्ने बागमती प्रदेश सरकारका प्रमुख सचिव तोयम रायले जानकारी दिनुभएको छ ।

सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गर्दै आदान–प्रदान गरिएको छ । सम्झौता कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल भने सिन्धुपाल्चोकको बाढीपहिरो पीडितको अवस्थाबारे अवलोकनका लागि त्यसतर्फ गएकोले आफू उपस्थित हुन नसकेको बताउनुभएको छ ।