स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली पनि आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो ।

सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । आफ्नो निर्वाचन क्षेत्रकी महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञहरुको टोली पठाउन आग्रह गर्नुभएकाे थियाे । सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो ।

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको र्‍यापिड एक्सन फोर्सको टोली पनि सिन्धुपाल्चोक जाँदै छ । बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाले स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयको टोली आज सिन्धुपाल्चोक आउन लागेको जानकारी आफूले पाएको बताउनुभयाे । शनिबार धादिङमा रहेको प्रदेश सरकारको टोली राति काठमाडौं पुगेको र आइतबार सिन्धुपाल्चोक पुग्ने प्रदेश सामाजिक मन्त्रालयले जनाएकाे छ ।