मकवानपुर– ढुङ्गा, गीट्टी बालुवा जिल्ला अनुगमन समितिले लकडाउन पुर्व कायम भएकै मुल्यमा नदिजन्य पदार्थको बिक्रिवितरण गर्न निर्देशन दिएको छ । आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् ढुङ्गा, गीट्टी बालुवा जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्टक रहेका नदिजन्य पदार्थ बिक्रिवितरण गर्दा लकडाउन पुर्व कायम भएकै मुल्यमा विक्रि बितरण गर्न सबै स्थानीय तहमा निर्देशन गर्ने निर्णय गरेको हो ।

बैठकले ढुङ्गा,गिटि र वालुवा लकडाउन भएको मिति भन्दा अगाडी के कस्तो दरमा विक्रि वितरण गरिएको थियो उक्त समयको रसिद माग गर्ने र लकडाउन अगाडी कायम भएकै दररेटमा मात्र विक्रि वितरण गर्न सवै स्थानीयतहमा निर्देशन गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । त्यस्तै बैठकले जिल्ला भित्रका खहरे खोला र नदीको आइइ (वातावरणिय प्रभाव मुल्याङ्कन) स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई नरहेको र आइइ नहुँदा आगामी वर्ष स्थानीयतहलाई समस्या पर्ने तथा स्थानीय तहको राजश्वको महत्वपुर्ण श्रोत समेत गुम्ने भएकाले थया सक्य छिटो आवश्यक निर्णय गरि पठाई दिन संघिय मामिला मन्त्रालय तथा प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै लकडाउनको समयमा राक्सिराङ्ग गाउपालिकाको रसिदवाट ढुङ्गा, गिटि र वालुवा निकासी भएकोले बैठकले सो सम्बन्धमा के कसरी विक्रि वितरण गरिएको हो र गाउँपालिका भित्र के कस्तो स्टक रहेको छ सो को लिखित जानकारी गराउन समेत गाउँपालिकालाई पत्राचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै बैठकले हेटौंडा खानेपानि वोर्डको आयोजना सञ्चालनकाका लागि ढुङ्गा,गिटि र वालुवा उपलव्ध गराउने निर्णय समेत गरेको छ । त्यसकालागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा प्रविधिकसहितको अनुगमन उपसमितिले अनुगमन गरी राजश्वको ग्यारन्टी गरेर आवश्यकताका आधारमा खानेपानी आयोजना सञ्चालनका लागि ढुङ्गा,गिटि र वालुवा उपलव्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कुलेखानी जलविद्युत आयोजना र ईन्द्रसरोवर गाउँपालिकाबीचको ठेक्का विवाद सम्बन्धमा विभिन्न समयमा छलफल तथा सहजीकरण भएको हुनाले सो को विषयमा सम्बन्धीत दुवै पक्षले अपसी समझदारीमा सामाधान गर्न पत्राचार गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरलगायत दुवै डिभिजन वन कार्यालयलका प्रमुख तथा ढुङ्गा, गिटि र वालुवा अनुगमन समितिका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।