हेटाैंडा, फागुन ११ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष निकालेको छ । यसअघि आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति सचेत गराएको छ । आईएमएफका अनुसार गएको जनवरीसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) ५ दशमलव ४ प्रतिशत पुगेको छ ।
यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको सातौँ अर्थात् अन्तिम किस्ताका लागि कर्मचारी तहमा सहमति भएको छ ।
यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृति गरेपछि नेपालले अन्तिम किस्ताबापतको ४ करोड ३२ लाख डलर अर्थात् सवा ६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । यो किस्ता आएपछि नेपालले ईसीएफ अन्तर्गतको कुल पौने ५६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ ।