हेटौंडा, माघ ३ । हेटौँडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई २–१ को सेटमा पराजित गर्दै कृष्ण आदर्शले उपाधि जितेकाे हाे ।
फाइनल खेलमा कृष्ण आदर्शले ज्योति माध्यमिक विद्यालयलाई २४–२६, २५–२२ र १५–६ काे सेटमा पराजित गरेकाे हाे । यसअघि शनिबार बिहान भएको सेमिफाइनल खेलमा ज्योति माध्यमिक विद्यालयले जीएस निकेतनलाई २५–१३, २२–२५ र १५–९ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने, कृष्ण आदर्शले ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २५–२३ र २५–१७ को सेटमा पराजित गरेको थियो ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४को आयोजनामा तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा उपमहानगरका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास र विद्यार्थीमा अनुशासन तथा सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएकाे छ ।











