हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभएको छ । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति रहेको स्पष्ट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा नेपालको स्पष्ट रूपमा आपत्ति रहेको कुरा राख्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ”, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भन्नुभएको थियो, “नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।”

नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान (दाबी) प्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राख्नुभएको परराष्ट्र सचिव राईले जानकारी दिनुभयो । सौहाद्र्रपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको पनि उहाँले जानकारी दिनुभयो । भेटका अवसरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गतका परियोजनालाई द्रुत गति दिन र त्यसबाट नेपालको आर्थिक सामाजिक समुन्नतिमा सहयोग पुग्ने विषयमा पनि छलफल भएको छ । भेटवार्तामा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी समेत भएको राईले जानकारी दिनुभयो ।