वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको ‘वृहत् महिला सम्मेलन–२०८२’ को उद्घाटनका लागी वीरगन्ज आउनुभएका भण्डारीलाई सिमरा विमानस्थलमा पार्टीका नेता कार्यकर्ताहरूले ५० किलोको माला लगाएर भव्य स्वागत गर्नुभएकाे हाे ।
पूर्व राष्ट्रपति भण्डारीको स्वागतका लागि एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, जितपुर सिमरा उपमेयर भोला अधिकारी, अध्यक्ष त्रिलोक शाह र वीरगंज महानगर अध्यक्ष नवराज शर्मा लगायतका नेताहरू सिमरा पुगेका थिए ।
पूर्व राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् । सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले बारा–पर्सामा लुकेर रहेका महिला प्रतिभालाई पहिचान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । ‘नारी: शक्ति, समर्पण र सम्मान’ विषयमा कार्यशाला गोष्ठीसमेत हुने यस कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहनुभएको छ ।
महिला उद्यमशीलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापाले पर्सा–बारा जिल्लामा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा सक्रिय महिलाको योगदानलाई उजागर गर्दै उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने लक्ष्य सम्मेलनले लिएको बताउनुभयो । सहसंयोजक अनुप अग्रवालका अनुसार कार्यक्रम सात चरणमा सम्पन्न हुनेछ । जसअन्तर्गत प्यानल छलफल, मोटिभेशनल वर्कसप र ३०–४० जना उत्कृष्ट महिलालाई सम्मान गर्ने योजना रहेको छ ।