कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । प्रदेशका १३७ पालिकाहरूलाई विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

अघिल्लो पटक आर्थिक मामिला मन्त्रालय समेत सम्हाल्नुभएका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ३६ अर्ब २४ करोडको बजेट ल्याउनुभएको थियो । तर पछि, कार्कीले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्दै तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको ३६ अर्ब ७४ करोडको बजेट पास भएको थियो ।