मकवानपुर । आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताह अन्तरगत आज पहिलो दिन हेटौंडा स्थित सहिद स्मारकमा बुद्धपार्क उद्धघाटन गरिएको छ ।



सहिद स्मारक विकास समिति र हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयको आयोजनामा बुधबार बिहान एक कार्यक्रमकाबीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्क उद्धघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै पौडेलले सहिदको एतिहासिक थलोको रुपमा विकसित स्मारकलाई धार्मिक पर्यटनसङ्ग पनि जोडेर अघि बढिरहेको बताउनुभयो । सो अवसरमा उहाँले सहिद सप्ताहका अवसरमा एकहप्ता सम्म हुने विभिन्न कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो ।
नवनिर्मित पार्कमा गौतम बुद्ध जन्मेपछी सात पाईला हिडेको बुद्धको मुर्ति देख्न सकिन्छ । भने, सोही स्थानमा गौतम बुद्धकि माता मायादेवी, भगवान ब्रम्हा र इन्द्रको मुर्ति पनि राखीएको छ । समितिले सहिद दिवसलाई सप्ताहब्यापी मनाउने कार्यतालिका अनुसार आज पार्कको उद्घाटन गरिएको समितिका सचीव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

स्मारक विकास समितिले सहिद सप्ताह २०८० का अवसरमा भोलि माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।
राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । शहीदको योगदानको कदर स्वरूप हरेक वर्ष माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउने गरिन्छ ।